प्रकाश डोटेल
स्याङ्जा-२७, असार ।
स्याङ्जाको पेलाकोट गाउँ विकास समिति-५, तारुखोलामा नेपाल एग्रो लाइफ एण्ड रिसर्च कम्पनी प्रा.लि. मार्फत झण्डै ६ करोडको लागतमा सामुहिक रुपमा व्यवसायीक भैसी, बाख्रा पालन र जडिबुटि खेतकिो शुरुवात गरिएको छ ।
चालु आर्थिक वर्षमा कम्पनीले तीन सय ५० रोपनी जग्गा खरिद गरेर परियोजना संचालनमा ल्याएको हो । परियोजना पहिलो चरणमा दुई करोडको लगानीमा २५ भैसी, एक सय ५० वटा बाख्रा, ३० रोपनी जग्गामा उन्नत जातको घाँस रोपण गरेको छ ।
कम्पनीले सोहि परियोजनाको दोस्रो चरणमा ५० भैसी, चार सय बाख्रा, एक सय ५० रोपनी जग्गामा उन्नत जातको घाँस रोपण, ५० हजार वटा किम्बु रोपण गर्ने, खयर छ हजार, एक सय घार माहुरी, पाँच सय लिटर क्षमताको चिस्यान केन्द्र, ५० हजार वटा ध्यूकुमारी, छ हजार वटा तरुण र एक हजार सुनगाभा विरुवा लगाउने योजना रहेको कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले बताए ।
'परियोजनाको अन्तिम तथा तेस्रो चरण आर्थिक वर्ष २०७०/०७१ मा कम्पनीले चार सय ५० बाख्रा खरिद गर्ने लक्ष्य लिएको छ ।' कम्पनीका अध्यक्ष पाण्डेले भने, 'सोहि वर्षमा पाँच सय घार माहुरी खरिद गरि मह उत्पादन गर्ने छौं ।'
भारतको एक जडिबुटि कम्पनीसँग निर्याताको सम्झौता गरेर कम्पनीले व्यवसायीक रुपमा घ्यूकुमारीको खेती गरेको छ । ५५ रोपनी जग्गामा ५५ हजार वटा विरुवा रोपण गर्ने लक्ष्य लिएको कम्पनीले चालु वर्षमा पाँच हजार घ्यूकुमारीका विरुवा रोपण गरेको छ ।
'कम्पनीले परियोजना अवधिमा ११ लाख ५० हजार किलो घ्यूकुमारी उत्पादन गर्ने छ ।' कम्पनीका सञ्चालक दिलिपप्रताप खाँणले भने, 'उत्पादीत घ्यूकुमारलाई प्रति किलोग्राम २० रुपैयाँमा बिक्री गर्ने छौं ।' अन्तर्राष्ट्रिय रुपमा १० उत्कृष्ट जडिबुटि मध्ये एक घ्यूकुमारीको कस्मेटिक सामानमा बढि प्रयोग हुने गरेको खाँणले बताए ।
९ वर्षसम्म चल्ने पहिलो परियोजनाको तीन चरणमा दैनिक दुई सय लिटर दुध उत्पादन गरेर बिक्री गर्ने, वाषिर्क रुपमा ५० हजार किलो मासु बिक्री गर्ने र पाँच हजार लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीले २०७२ देखि २०७४ सम्म दोस्रो र २०७५ देखि २०७७ सम्ममा तेस्रो गरि थप दुई परियोजनामा करिब चार करोडको लगानी गर्ने योजना बनाएको छ ।
'पछिल्लो सयम नेपालबाट युवाहरु बिदेशिने क्रममा तिव्रता आएको छ ।' कम्पनीका सञ्चालकहरु भन्छन्, 'कृषिलाई व्यवसायीक बनाउन सकिन्छ भन्ने प्रमाणीत गर्न हामी एक भएर लागेका छौं ।' वाषिर्क रुपमा अरबौ रुपयाँ बराबरको कृषिजन्य वस्तुको निर्यात गर्न सकियो भने युवाहरु विदेशीने क्रम घट्ने उनीहरुको विश्वास छ ।
'परियोजनालाई जिल्ला वन कार्यालय र जिल्ला कृषि विकास कार्यालयले प्राबिधिक रुपमा समेत सहयोग गरेको छ ।' जिल्ला वन कार्यालयका प्रमुख जीवनाथ पौडेलले भने, 'शिक्षित युवाहरुको सक्रियतामा अनुकरणीय कामको शुरुवात भएको छ ।'
Post a Comment