प्रकाश डोटेल
स्याङ्जा-२०, असार ।
वि.सं २०३१ सालमा नेपाली काँग्रेसले आह्वान गरेको सशस्त्र आन्दोलनका योद्धा एवं स्वतन्त्रतासेनानी कृष्णकुमार अधिकारीको मंगलबार राति ७३ वर्षको उमेरमा निधन भएको छ । मष्तिष्कको क्यान्सरबाट पीडित अधिकारी पुवनपा १२ राङ्खोलस्थित आफ्नै निवासमा निधन भएको हो ।
नेपाली काँग्रेसका पुराना, त्यागी र सरल स्वभावका अधिकारी २०३१ सालको बम काण्ड र सशस्त्र आन्दोलनका क्रममा हातहतियार ओसार पसारका मुख्य ब्यक्तित्व मानिन्छन् । उनले नेपाली काँग्रेसको गतिविधिमा संलग्न भएवापत राजद्रोहको मुद्धा लागेर राज्यबाट सर्वस्व हरण भएपछि करीब आठ वर्ष प्रवासी जीवन विताएका थिए ।
यसैबीच नेपाली काँग्रेस स्याङ्जाले बुधबार अधिकारीको सम्मानस्वरुप श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । अधिकारीको निधनले स्याङ्जा काँग्रेस स्तब्ध भएको काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले बताए । सभापति पंगेनीले राम्दीघाटमा नेपाली काँग्रेसको चार तारे झण्डा ओढाउँदै फुलमाला चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनले काँग्रेस स्याङ्जका एक होनाहार नेता, ३१ साल बमकाण्डका मुख्य ब्यक्तित्व स्वर्गीय अधिकारीले जीवनमा काँग्रेसको संगठनलाई दिएर मात्र विदा भएको तर, राष्ट्र र काँग्रेसबाट केही नमागेको र नलिएको बताए । स्वर्गीय अधिकारी त्यागी, सरल स्वभाव र असल ब्यक्तिको रुपमा परिचित रहेको भन्दै सभापति पंगेनीले भने-'काँग्रेस कार्यकर्ताले उहाँको असल स्वभावको अनुसरण गर्नु जरुरी छ, त्यो नै वहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।'
यसअघि बिहान अधिकारीकै निवासमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मी र नेता शिवकुमार अधिकारी संयुक्तरुपमा चार तारे झण्डासहित फुल, माला र अबीरले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसअवसरमा काँग्रेस नेता रेगमीले अधिकारीले काँग्रेस संगठनमा ठुलो लगानी गरेको भन्दै अधिकारीले पुर्याएको योगदानको स्मरण गरेका थिए । उनले अधिकारीको निधनले स्याङ्जा काँग्रेसलाई अपूरणीय क्षति भएको भन्दै उक्त क्षतिलाई पूरा गर्नका लागि सयौं नयाँ काँग्रेसी कार्यकर्ता उब्जाउन सक्नुपर्ने बताए ।
त्यसअवसरमा नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति विश्वप्रेम अधिकारी, श्रीप्रसाद जीटी. महाधिबेशन प्रतिनिधि देबी अर्याल, क्षेत्र नं १ का पूर्व सभापति गोपालप्रसाद ढकाल, नेपाली काँग्रेस नगर सभापति बेदप्रसाद दोरंगा, रेडक्रस स्याङ्जाका मन्त्री बिष्णुप्रसाद काफ्ले, नेपाल किसान संघका सभापति दशरथ अर्याल, क्षेत्रीय सदस्य भिमसेन पौडेल, समाजसेवी सुनिल अर्याल, नेपाल कर्मचारी संघका सचिब यवनाथ अर्याल, नेपाल तरुण दलका लक्ष्मीप्रसाद उपाध्याय, नेका वडा नं १२ का सभापति दुर्गाबहादुर शाह, नेपाल शिक्षक संघका क्षेत्रीय अध्यक्ष युवराज ढकाललगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Post a Comment