Header Ads

Recently Updated :
Home » » गाविसका सबै घरमा पक्की शौचालय

गाविसका सबै घरमा पक्की शौचालय

Posted By संकल्प on Thursday, July 5, 2012 | 10:45 AM

प्रकाश डोटेल
स्याङ्जा-२०, असार ।
गाविसको जनसंख्या दुई हजार पाँच सय ३०, घर संख्या तीन सय ५६, जनसंख्याको दृष्टिले जिल्लाको सानो गाविस । सचेतना र एकताबाट प्राप्त उपलब्धीलाई हर्ने हो भने जिल्लाकै बिशाल गाविसका रुपमा लिन सकिने नमूना बनेको छ माझकोट शिवालय गाविस ।

गुरुङ् समुदायको बाहुल्य रहेको माझकोट शिवालयका प्रत्येक घरमा पक्की शौचालय निर्माण गरिएका छन् । स्थानीयबासीको सक्रियतामा गाविसका प्रत्येक घरमा निर्माण गरिएका पक्की शौचालय जिल्लामै अनुकरणीय बनेका छन् ।

'जिल्ला विकास समिति, गाउँ विकास समिति र नेपाल रेडक्रस सोसाइटीको आर्थिक र भौतिक सहयोगमा गाविसका सबै घरमा पक्की शौचालय निर्माण गरिएको हो ।' स्थानीय हर्कबहादुर गुरुङ्ले भने, 'प्रति शौचालयमा झण्डै २० हजार लगानी भएको छ ।' स्थानीयबासीको सामुहिक प्रतिवद्धताले यो सम्भव भएको गुरुङ्को भनाइ छ ।

जापान रेडक्रसको सहयोगमा २०५० सालमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाले जिल्लाको माझकोट गाविसमा संचालन गरेको खानेपानी तथा सरसफाई परियोजनाले करिब २० वर्षपछि पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाले जिम्मा लिई गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरेको छ ।

'स्याङ्जाका ६० गाविस र दुई नगरपालिका मध्ये ३३ गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।' स्थानीय विकास अधिकारी नरहरि बरालले भने, 'घोषणालाई सार्थक बनाउन गाविसका सबै घरमा पक्की शौचालन बनाउनुको विकल्प छैन । यसको नमूना माझकोटले प्रस्तुत गरेको छ ।'

'खुला दिसामुक्त घोषणा गर्नकै लागि जे जस्तो भएपनि शौचालन बनाउने प्रचलन बढेको छ । अधिकारी बरालले भने, 'करकापमा बनाएको शौचालय प्रयोग बिहीन हुने गरेका छन् ।' आफू र समाजलाई सफा राख्ने प्रतिवद्धता व्यवहारमा उतार्न सकेमा दर्जनौ रोगबाट बच्न सकिने बरालको भनाइ थियो ।

'पर्यटकीय क्षेत्रका रुपमा रहेको बुढाकोटसमेत माझकोट गाविसमा पर्ने र यसको समुचित विकास गर्न सकेमा जिल्लाले यसको वास्तविक प्रतिफल पाउने थियो,' नेकपा एमाले स्याङ्जाका सचिव पुष्ण्प्रसाद भुषालले भने, 'गुरुङ्बस्ती रहेको माझकोटमा होमस्टेको तालिम दिन सकेमा यस क्षेत्रको सही मुल्याङ्कन हुनेछ ।'

'माझकोट गाविसमा खानेपानीको सहजता छ ।' नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाका सभापति चनद्रमणी पौडेलले भने, 'व्यवस्थित गर्न सकेमा छिमेकी गाविसहरुमा खानेपानी उपलब्ध गराउन सकिने थियो ।

सन २०१७ सम्ममा नेपाल र २०१३ सम्ममा स्याङ्जालाई खुला दिसामुक्त बनाउने अभियानमा राज्यले ठूलो रकम बिनियोजना गरेको छ । बिनियोजित रकम अनुसारको काम नभएको गुनासो र टिप्पणीहरु समेत यदाकदा आउने गरेका छन् ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi