Header Ads

Recently Updated :
Home » » खेतीपातीका बेला कृषक आन्दोलनमा

खेतीपातीका बेला कृषक आन्दोलनमा

Posted By संकल्प on Friday, July 6, 2012 | 10:11 AM

प्रकाश डोटेल
स्याङ्जा-२२, असार ।
खेतीपाती गर्ने मुख्य समयमा देशभरका किसानहरु आन्दोलित भएका छन् । धान र मकैको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसानहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका क्रममा स्याङ्जाका किसानहरुको एक प्रतिनिधि मण्डलले शुक्रबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले बुझाएको ज्ञापन पत्रमा विभिन्न चार बुँदे माग समेटिएको छ ।
किसानहरु निर्धक्क भई खेतिपातीको काममा लाग्नुपर्ने समयमा किसानहरु मलको अभावका कारण यसको खोजिमा भौतारिनु पर्ने बाध्यता रहेको, कृषिको क्षेत्रमा सुधार र परिवर्तनको आवश्यकता रहेकोमा राज्य उदासिन देखिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कृषकलाई राहत दिने कुरा कागजमा मात्र सिमित भएको खेतिको समयमा किसानका लागि राज्यले मलको बन्दोवस्त गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरिएको छ । अनुदानको मल किसानले दोव्वर मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता रहेको भन्दै मलखादमा कालो बजारी भएकोमा किसानहरुले विरोध जनाएका छन् ।
उनीहरुले मलको आपूर्तिलाई सहज बनाउन आयातमा मात्र भर पर्ने अवस्थाको अन्त्य गर्दै भविष्यमा मलमा आत्मनिर्भर हुने अवस्था सृजना गर्न प्राङ्गारिक मल उत्पादनमा राज्यले प्रोत्साहन दिनुपर्ने सुझावसमेत दिएका छन् । ज्ञापन पत्रमा यही असार २५ गते जिल्ला सदरमुकाममा किसान जुलुस र सभाको आयोजना गर्दै बिरोध जनाउने र त्यतिबेलासम्म पनि मलको सहज आपूर्ति नभएमा थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख छ ।

ज्ञापनपत्रमा अखिल नेपाल किसान महासंघका स्थायी समिति सदस्य ढाकराम अर्याल, केन्द्रीय सदस्य रामबहादुर थापा, नेपाल किसान संघ स्याङ्जाका सभापति दशरथ अर्याल, महिला संघकी केन्द्रीय सदस्य हिरादेवी शर्मा, अखिल नेपाल किसान महासंघ २००७ रमणी डुम्रे, दीपक पोख्रल, अखिल नेपाल प्रगतिशील किसान संघ, राष्ट्रिय प्रजातन्त्र किसान संघ, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विभिन्न राजनीतिक दलका जिल्लास्तरीय नेताहरु, युवा, विद्यार्थी, मजदुरलगायत त्यसअवसरमा सहभागी थिए ।

ज्ञापन पत्र बुझ्दै कार्यबाहक प्रमुख जिल्ला अधिकारी नवराज बरालले उक्त ज्ञापन पत्र तत्काल सम्बन्धित निकायमा पठाउने बताए । उनले पछिल्लो समयमा देखिएको मल अभावले कृषकहरु पीडित बन्नु परेको बताए ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi