Header Ads

Recently Updated :
Home » » स्याङ्जामा रेसमखेतीको अस्तित्व लोप हुने अवस्थामा

स्याङ्जामा रेसमखेतीको अस्तित्व लोप हुने अवस्थामा

Posted By Krishna parajuli(Ghanashyam) on Tuesday, July 31, 2012 | 7:49 AM


साउन १६, स्याङ्जा । कुनै बेला नेपालमा डलर भित्र्याउने दरिलो नगदेबालीका रूपमा परिचित रेसमखेती अहिले स्याङ्जामा अस्तित्व नै लोप हुने खतरामा परेको छ । जिल्लाका युवा धेरै पैसा कमाउने महत्वाकाङ्क्षा लिएर वैदेशिक रोजगारीमा जाने प्रक्रिया बढ्दै जानु तथा नगदेबालीमा अन्य धेरै विकल्प भएका कारण यो व्यवसायप्रति कृषकको विस्तारै आकर्षण घट्दै गएको रेसम विकास कार्यक्रम वालिङ–८ त्रियासीका रेसम विकास अधिकृत शिवराज बरालले जानकारी दिनुभयो ।

   परम्परागत नगदेबालीमा भन्दा रेसमखेती गर्दा कम लगानीमा छिट्टै उचित प्रतिफल पाइने भए पनि किसानले यो व्यवसाय विस्तारै छाड्दै गएको रेसमखेती गर्दै आएका कृषक नरसिं गुरुङले बताउनुभयो । उहाँले भत्रुभयो– 'आफूले पालेको रेसम किरालाई १५ देखि १८ दिनसम्म राम्रो तापक्रम मिलाएर रेखदेख गर्न सकेमा मात्रै राम्रो उत्पादन लिन सकिन्छ ।' रेसमखेती गर्दा किराका लागि तापक्रममा उचित दिनुपर्ने, बगैँचा नै बनाएर किम्बुखेती गर्नुपर्ने, उपर्युक्तरूपमा प्राविधिक ज्ञान प्राप्त गर्न नसक्नु र उत्पादित कोकुनको मूल्य पनि निकै कम हुनुलगायतका कारणले रेसमखेतीबाट किसानले विस्तारै हात झिक्दै आएका हुन् ।

     कार्यालयले कृषकले उत्पादन गरेको रेसमको कोकुनलाई उचित मूल्य दिएका खरिद गरिदिने गरेको समेत कार्यालयका रेसम विकास अधिकृत बरालले बताउनुभयो । उहाँका अनुसार कृषकले उत्पादन गरेको कोकुनलाई त्यसको गुणस्तर हेरेर प्रतिकिलो रु ३०० देखि रु ४०० सम्ममा कार्यालयले नै खरिद गरिदिने गरेको छ । जिल्लाको एक नगरपालिकासहित झन्डै डेढदर्जन गाविस, पाल्पाका खालीवन, मदनपोखरालगायत गाविस र अर्घाखाँचीका केही गाविसमा रेसमखेतीको विकास गर्ने गरी वालिङ–८ त्रियासीमा स्थापना भएको रेसम विकास कार्यालयका अनुसार अहिले स्याङ्जा र पाल्पाका केही गाविसमा मात्रै यो खेती सीमित भएको छ भने अर्घाखाँचीमा खेती नै हराएको जनाइएको छ ।

    स्याङ्जाको वालिङ, त्रियासी, रत्नपुर, पेलाकोट, चापाकोट, खिलुङदेउराली, रापाकोट तथा पाल्पा जिल्लाका केही गाविसमा मात्रै किसानले सीमितरूपमा मात्रै रेसमखेती गरिरहेका छन् । कृषकलाई रेसमखेतीको महत्व, यसको बजार, खेती गर्ने तौरतरिका आदिका बारेमा सचेतना प्रभावकारी ढङ्गबाट चलाउन नसक्दा पनि यो खेतीप्रति कृषकको आकर्षण घट्दै गएको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन समितिका अध्यक्ष केदार काफ्लेले बताउनुभयो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi