३ साउन, सरकारले सुन्तला, जुनार र निबुवा चीनको स्वशासित क्षेत्र तिब्बत निर्यातको तयारी गरेको छ । नेपालका कृषि उत्पादन ‘सिट्रस’ आयात गर्न चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारी सहमत भएपछि सरकारले निर्यातको तयारी थालेको हो । गत असार २० र २१ गते ल्हासामा भएको द्विपक्षीय बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच सिट्रस आयात(निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो । कृषि विभागका महानिर्देशक श्यामकिशोर साहले उक्त सहमतिमा हस्ताक्षर भएको जानकारी दिँदै बैठकमा सहभागी राष्ट्रिय प्लाण्ट क्वारेण्टाइन कार्यक्रमका प्रमुख ईश्वरप्रसाद रिजालले आगामी यामदेखि सुन्तला, जुनार र निबुवा तिब्बत पठाउने तयारी भइरहेको राससलाई बताउनुभयो ।
विश्व व्यापार सङ्गठनको सदस्य भएकाले नेपालले आफ्ना उत्पादन विश्व बजारमा बेच्नसक्ने बताउँदै उहाँले कृषि विभागले सिट्रस निर्यातको तयारी थालेको जानकारी दिनुभयो । ‘स्याङ्जाको सुन्तला र रामेछापको जुनारलाई तिब्बती अधिकारीले मनपराए नेपाली कृषि उपजको गुणस्तरप्रति तिब्बतीहरू आश्वस्त भएका तथा सिन्धुलीको जुनारसमेत आगामी याममा तिब्बत पठाइने प्रमुख रिजालले बताउनुभयो ।
सिट्रसका साथै केरा, आँप, मौसमी एवम् वेमौसमी सागसव्जी पनि तिब्बत पठाउने प्रयास भइरहेको जानकारी उहाँले दिनुभयो । ‘तिब्बतसँगको उक्त सहमति कार्यान्वयनका निम्ति पर्सी शुक्रबार सम्बद्ध सरकारी अधिकारीहरूसँग बैठक हुँदैछ’( निर्यात तयारीबारे प्रमुख रिजालको कथन थियो । ल्हासा बैठकमा व्यापार सहजीकरण, केरुङ र तातोपानी नाकामा भौतिक पूर्वाधार विकास, प्रक्रियागत सरलीकरणलगायत चीनसँगको व्यापार घाटा कम गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सो बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा भन्सार विभागका वरिष्ठ अधिकारी, नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक तथा ल्हासास्थित नेपालका महावाणिज्यदूतको सहभागिता थियो ।

Post a Comment