प्रकाश डोटेल
स्याङ्जा-३, साउन ।
पुतलीबजार नगरपालिका कार्यालय स्याङ्जाले आन्तरिक आम्दानीमा बृद्धि गर्ने उद्देश्यले कार्यालय परिसरको पाँच आना जग्गामा झण्डै ४० लाखको लागतमा सपिङ्ग कम्पलेक्स निर्माण गर्न लागेको छ ।
'कम्पलेक्स दुई तलाको आठ कोठाको हुनेछ ।' नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले भने, 'कम्पलेक्स निर्माण सम्पन्न भएपछि केहि हदसम्म भएपनि आन्तरिक आम्दानीमा बृद्धि हुनेछ ।' आन्तरिक आम्दानी कमि हुदाँ कार्यालय संचालनमा समस्या भएको आचार्यले जानकारी दिए ।
पुतलीबजार नगरपालिका कार्यालयको आन्तरिक आम्दानीको तुलनामा खर्च दोब्बर छ । आर्थिक वर्ष २०६७/०६८ मा ३६ लाख आम्दानी भएकोमा खर्च ७० लाख खर्च भएको थियो । पछिल्लो आर्थिक वर्ष २०६८/०६९ मा ७३ लाख अान्तरिक खर्च भएकोमा ४५ लाख आम्दानी भएको थियो ।
'आम्दानीको तुलनामा खर्च धेरै हुने गरेको छ, यसलाई थेग्न आम्दानीको श्रोतको बृद्धि गर्नुको विकल्प छैन् ।' नगरपालिकाका सब-ईन्जिनियर खगेन्द्रप्रसाद ढकालले भने, 'विगतका वर्षहरुको तुलनामा पछिल्लो वर्ष करिब १० लाख आम्दानीमा बृद्धि भएको छ ।'
नगरपालिकामा स्थानीय स्तरमा नियुक्त गरिएका झण्डै एक दर्जन कर्मचारी रहेका छन् । उनीहरुको तलब व्यवस्थापन गर्न हरेक वर्ष नगरपालिकालाई हम्मेहम्मे परेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार, तलबको व्यवस्थापना गर्ने समयमा विकास निर्माणका कार्यहरु स्वभाविक रुपमा प्रभावित भएका छन् ।
Post a Comment