Header Ads

Recently Updated :
Home » » स्याङ्जामा सुधारिएको चुलो निर्माण

स्याङ्जामा सुधारिएको चुलो निर्माण

Posted By संकल्प on Tuesday, July 3, 2012 | 10:36 AM

प्रकाश डोटेल
स्याङ्जा-१८, असार ।
सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ स्याङ्जाले जिल्लाका छ गाविस र नगरपालिकाको एक वडामा रहेका गरिब तथा विपन्न परिवारका घरमा एक महिनाको अवधीमा चार सय २५ सुधारिएको चुलो निर्माण गर्ने भएको छ ।

स्याङ्जाको आरुखर्क, फेदीखोला, तुलसीभञ्ज्याङ्, केवरेभञ्ज्याङ्, मल्याङ्कोट र कुवाकोट गाविस तथा पुतलीबजार नगरपालिका-१० मा बसोबास गर्ने गरिब तथा विपन्न परिवारका घरमा चुलो निर्माणको कार्य संचालन गरिएको हो । गाविसहरुमा उत्प्रेरक खटाएर चुलो बनाउने कार्य भइरहेको छ ।

जर्मन सरकारद्धारा संचालित जिआईजेड परियोजना लागु भएको सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको सहयोगमा सुधारिएको चुलो निर्माण गरिएको महासंघ स्याङ्जाका अध्यक्ष चित्रबहादुर कार्कीले जानकारी दिए ।

'प्रति चुलो छ सय ५० रुपयाँको लागतमा निर्माण हुनेछ ।' अध्यक्ष कार्कीले भने, 'चार सय २५ चुलो निमर्ाणका लागि दुई लाख १० हजार रुपयाँ बजेट छ ।' २०६९ जेठबाट शुरु भएको चुलो बनाउने कार्य असार मसान्तमा सम्पन्न हुने उनले बताए ।

वन उपभोक्ता महासंघले संचालन गरेको सुधारिएको चुलो बनाउने कार्यमा जिल्ला विकास समिति र सम्बन्धित गाविसले सहयोग नगरेको समेत महासंघ स्याङ्जाले जनाएको छ । महासंघका अनुसार उनीहरुले सहयोग गरेमा थप केहि घरहरुमा चुलो बनाउने सकिने थियो ।

महासंघ स्याङ्जाको सक्रियतामा विगतका वर्षहरुमा समेत सुधारिएको चुलो निर्माण हुँदै आएको थियो । गत वर्ष जिल्लाका पाँच गाविसमा पाँच सय सुधारिएको चुलो निर्माण भएको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi